Rule 19
भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार
: भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री, पशु औषधि वा जैविक पदार्थको गुणस्तर जाँच गर्ने वा जाँच गर्नको लागि सोको नमूना सङ्कलन गरी विभागले तोकेको प्रयोगशालामा पठाउने,
(ख) म्याद नाघेका पशु औषधि, जैविक पदार्थ वा पशु उत्पादन सामग्री भेटिएमा नियम १८ को कार्यविधि पूरा गरी नष्ट गर्ने र सो को जानकारी विभागमा लेखी पठाउने ।
(ग) पशु औषधि वा जैविक पदार्थको विक्री वितरण आधिकारिक व्यक्तिबाट भए वा नभएको जाँच गरी विभागलाई जानकारी गराउने,
(घ) कुनै व्यावसायिक फार्मले पशुलाई नियमित रुपमा खोप दिए वा नदिएको, जैविक सुरक्षाका उपायहरू अवलम्वन गरे वा नगरेको जाँच गर्ने,
(ङ) खण्ड (घ) बमोजिम जाँच गर्दा कुनै पशुमा रोग लागेको पाइएमा वा सोको शंका लागेमा त्यस्तो पशुलाई नष्ट गर्न वा छुट्टै राख्न आदेश दिने वा विक्री वितरण गर्न रोक्का गर्ने र सो कुराको जानकारी यथाशीघ्र विभागलाई दिने,
(च) यस नियमावली बमोजिम विभागबाट सिफारिस पत्र वा अनुमतिपत्र प्रदान गरिएकोमा सो बमोजिम भए वा नभएको निरीक्षण गरी विभागb समक्ष प्रतिवेदन पेश गर्ने,
(छ) पशु नसल सुधार सम्बन्धमा स्थलगत रुपमा सुझाव संकलन गरी विभागमा पठाउने,
(ज) पशु नसल सुधार लागू गरिएको क्षेत्रमा भाले जातको पशुहरूलाई खसी पार्ने कार्य गराउने,
(झ) पशु नसल सुधार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न प्रचार प्रसार गर्ने,
(ञ) पशु नसल सुधारको लागि पशुहरूको जाति र वीर्यको प्रयोग सिफारिस अनुसार भए वा नभएको अनुगमन गर्ने,
(ट) विभागले तोकिदिएका अन्य काम गर्ने वा गराउने ।